काठमाडौं२८ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीका लागि आयोजना गरिएको निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरिएको छ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता कायम राख्न निर्वाचन अधिकारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले आगामी निर्वाचनलाई कानुनअनुसार, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै निर्वाचन अधिकारीहरू जिम्मेवार र प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
भण्डारीले निर्वाचन व्यवस्थापनमा देखिन सक्ने चुनौतीहरूलाई समयमै समाधान गर्दै मतदाता अधिकारको संरक्षण गर्न निर्वाचन आयोग दृढ रहेको बताउनुभयो। अभिमुखीकरण कार्यक्रममार्फत निर्वाचन सञ्चालन, व्यवस्थापन, आचारसंहिता र कानुनी प्रावधानबारे स्पष्ट ज्ञान हासिल हुने विश्वास व्यक्त गर्नुभयो।