समाचार:
नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीको रूपमा हेरिएका आफ्नो निर्वाचन क्षेत्र सर्लाही आइपुगेसँगै स्थानीयवासीहरूमा उल्लेख्य उत्साह देखिएको छ। थापाको उपस्थितिले सर्लाही क्षेत्र नम्बर ४ मात्र होइन, सप्तरी, सिराहा, रौतहट, धनुषा हुँदै पर्सासम्मको राजनीतिक माहोल नै बदलिने आकलन हुन थालेको छ।
कांग्रेससँगै नेपालको समग्र राजनीतिक भविष्य रूपान्तरण गर्ने दृढ संकल्पका साथ अघि बढिरहेका थापाले भोलिदेखि नै निर्वाचन क्षेत्रमा सक्रिय भई मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरेका छन्। स्थानीय समस्यादेखि राष्ट्रिय मुद्दासम्म जनताको आवाज सुन्ने र साझा प्रतिबद्धता प्रस्तुत गर्ने उनको अभियानले मधेसको राजनीतिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
थापाको आगमनसँगै सर्लाहीसहित आसपासका जिल्लामा कांग्रेस कार्यकर्ता र समर्थकहरूमा थप उत्साह देखिएको छ। गगन थापाप्रति देखिएको आकर्षण र समर्थनलाई मध्यनजर गर्दै उनको पक्षमा लाखौँ मतदाताले उत्साहजनक रूपमा मतदान गर्ने अनुमान गरिएको छ।
मधेस प्रदेशबाट चुनाव लड्नुको मुख्य उद्देश्य मधेसी जनताको हौसला बढाउँदै विकास र समृद्धिको अभियान अघि बढाउनु रहेको थापाको स्पष्ट धारणा छ। समाज परिवर्तनका आधारस्तम्भका रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा समावेशी विकासलाई विशेष प्राथमिकतामा राख्दै मधेसमा नयाँ नमुना विकासको मजबुत वातावरण निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।