भोटेकोशी बाढीपीडितका लागि नेपाली कांग्रेसद्वारा विशेष मनोसामाजिक परामर्श तालिम सम्पन्न

tejnewskhabar.com

काठमाडौं२४ गते  । नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई बाढीपछिको मानसिक असर र पीडाबाट बाहिर ल्याउन तथा आवश्यक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले विशेष मनोसामाजिक परामर्श तालिम सम्पन्न गरेको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत मानसिक स्वास्थ्य सचेतना उपसमितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिममा न्युरोसाइक्र्याट्रिक डा. प्रभाकर पोखरेल, मनोविद् कपिल शर्मा, गृष्मा पनेरु, मानसिक स्वास्थ्य अभियन्ता डा. रविन बस्नेत तथा प्रतिष्ठानका सदस्य प्रकाश लामिछानेले सहजीकरण गर्नुभएको थियो।

तालिममा पार्टीका केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, प्राज्ञिक तथा सामाजिक क्षेत्रका अभियन्तालगायत ४६ जना परामर्शदाता सहभागी भएका थिए।

तालिमपछि प्रशिक्षित परामर्शदाताहरूले काठमाडौं उपत्यका तथा बाढी प्रभावित जिल्लाका विभिन्न सेल्टरमा रहेका पीडितहरूलाई प्रत्यक्ष भेटेर आवश्यक मनोसामाजिक परामर्श तथा काउन्सिलिङ सेवा प्रदान गर्नेछन्।

विशेषगरी उच्च जोखिममा रहेका बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै परामर्श सेवा प्रदान गरिने नेपाली कांग्रेसले जनाएको छ।

बाढी तथा विपद्का कारण उत्पन्न तनाव, त्रास, शोक र मानसिक आघातलाई सम्बोधन गर्दै प्रभावित नागरिकलाई सामान्य जीवनतर्फ फर्काउन मनोसामाजिक सहयोग महत्वपूर्ण हुने भएकाले पार्टीले यस्तो पहल अघि बढाएको हो।

प्रतिक्रिया