काठमाडौँ, ०७ गते — मधेश प्रदेशका मुख्यमन्त्री माननीय कृष्णप्रसाद यादवज्यूलाई काठमाडौँमा मधेशी प्रजातान्त्रिक इन्जिनियर्स समाज, काठमाडौँले भव्य स्वागत एवं अभिनन्दन गरेको छ।
कार्यक्रममा समाजका पदाधिकारी, इन्जिनियरहरू, बुद्धिजीवी तथा मधेशी समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वागत कार्यक्रमको क्रममा मुख्यमन्त्री यादवज्यूलाई पुष्पगुच्छा, दोसल्ला तथा सम्मानपत्र प्रदान गर्दै अभिनन्दन गरिएको थियो।
उक्त अवसरमा युवा नेता उमेश प्रसाद चौधरीले मधेश प्रदेशको विकास, पूर्वाधार निर्माण, प्राविधिक जनशक्तिको उपयोग तथा समावेशी विकासमा मुख्यमन्त्री यादवज्यूको नेतृत्व महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले मधेशी इन्जिनियर्स समाजले प्रदेशको विकासमा प्राविधिक सुझाव र सहयोग निरन्तर रूपमा प्रदान गर्दै आएको र आगामी दिनमा समेत प्रदेश सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवज्यूले काठमाडौँमा रहेका मधेशी इन्जिनियरहरूको भूमिकाको प्रशंसा गर्दै मधेश प्रदेशको समग्र विकासमा इन्जिनियरहरूको योगदान अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले प्रदेश सरकार पूर्वाधार विकास, रोजगारी सिर्जना र युवाहरूलाई अवसर प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
मुख्यमन्त्री यादवज्यूले प्रदेशभित्र दिगो विकास, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै काठमाडौँमा रहेका मधेशी समुदाय र पेशागत संघ–संस्थाहरूसँग सहकार्य अझ मजबुत बनाइने विश्वास व्यक्त गर्नुभयो।