जनकपुरधाम, पुस ७ गते —मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बंगलादेशमा हिन्दु तथा अन्य अल्पसंख्यक समुदायमाथि भइरहेको हिंसा, उत्पीडन र जबरजस्ती सम्पत्ति कब्जाका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै कडा निन्दा गर्नुभएको छ।
मुख्यमन्त्री यादवले भीडद्वारा गरिने हत्या (मॉब लिंचिङ), मौलिक अधिकारको निरन्तर उल्लंघन तथा अल्पसंख्यक समुदायलाई लक्षित आक्रमणले कानुनी शासनको गम्भीर कमजोरी मात्र नभई मानवता, न्याय र सभ्य समाजका आधारमाथि नै गहिरो चोट पुर्याइरहेको बताउनुभयो।
उहाँले हालै बंगलादेशस्थित भारतीय दूतावासमाथि भएको आक्रमणलाई उल्लेख गर्दै अन्तरिम सरकारको असफलता स्पष्ट रूपमा देखिएको टिप्पणी गर्नुभयो। यस्तो अराजक र अस्थिर अवस्था बंगलादेशको आन्तरिक मामिलामा मात्र सीमित नरही सम्पूर्ण क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि गम्भीर चुनौती बनेको उहाँको भनाइ छ।
मुख्यमन्त्री यादवले दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता सुनिश्चित गर्न स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अपरिहार्य रहेको जोड दिनुभयो। जनताको जनादेशबाट निर्वाचित सरकारले मात्र कानुनी शासन, समानता र सहअस्तित्वको बलियो आधार निर्माण गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो।
राज्यको पहिलो र प्रमुख जिम्मेवारी आफ्ना नागरिकको जीवन, अधिकार र सुरक्षाको सुनिश्चितता भएको बताउँदै उहाँले अन्तरिम शासनको असफलताबाट उत्पन्न अराजकता र असुरक्षालाई अन्त्य गर्न राजनीतिक दल, अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित निकायहरूले संयुक्त रूपमा सक्रिय र पारदर्शी पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
लोकतान्त्रिक मूल्य, मानव अधिकार र न्यायको सम्मानबिनाको शान्ति दिगो नहुने उल्लेख गर्दै मुख्यमन्त्री यादवले लोकतन्त्रको बलमा मात्र दीर्घकालीन विकास र क्षेत्रीय स्थिरता सम्भव हुने स्पष्ट पार्नुभयो।
अन्त्यमा उहाँले सबै जिम्मेवार पक्षहरूलाई लोकतन्त्र, न्याय र मानवताको पक्षमा दृढ प्रतिबद्धता जनाउँदै समस्याको समाधानतर्फ अघि बढ्न आह्वान गर्नुभएको छ।