सुनसरी घटनामा पीडित परिवार र गृह मन्त्रालयबीच ६ बुँदे सहमति, मृतकलाई सहिद घोषणा प्रक्रिया अघि बढाइने

tejnewskhabar.com

काठमाडौं, साउन १५ — सुनसरीको देवानगञ्ज–३ कमानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।

साउन १४ गते सम्पन्न सहमतिअनुसार मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।

यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने, पीडित परिवारका एक सदस्यलाई उपयुक्त रोजगारीको व्यवस्था मिलाइने र मृतकको सम्झनामा स्मृति पार्क निर्माण गरिने सहमति भएको छ।

सहमतिमा घटनासँग जोडिएको मदरसाको कानुनी हैसियतबारे समेत आवश्यक छानबिन गर्ने उल्लेख गरिएको छ।

६ बुँदे सहमतिपत्रमा पीडित परिवारका प्रतिनिधि तथा गृहमन्त्री सुदन गुरुङले हस्ताक्षर गरेका छन्। सरकारले सहमतिका बुँदाहरू कार्यान्वयन गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया