फुटपाथमै बच्चा जन्माएको भनिएको घटना भाइरल भएपछि कांग्रेस मधेसको गम्भीर ध्यानाकर्षण

tejnewskhabar.com

राजविराज । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी एक विपन्न महिलालाई आर्थिक अभावका कारण भर्ना नगरिएको र अस्पताल परिसरबाहिर फुटपाथमै बच्चा जन्माउन बाध्य भएको भनिएको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली कांग्रेस मधेस प्रदेशले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा महिलाले अस्पताल परिसरबाहिरै प्रसूति गराउनुपरेको देखिएपछि घटनाले स्वास्थ्य सेवा तथा अस्पतालको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। यद्यपि, घटनाको वास्तविक अवस्था र जिम्मेवार पक्षबारे आधिकारिक छानबिनबाट सत्यतथ्य सार्वजनिक हुन बाँकी छ।

घटनाप्रति प्रतिक्रिया जनाउँदै नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार प्रमुख नितेश कुमार गुप्ताले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने अवस्था स्वीकार्य नभएको बताएका छन्।

गुप्ताले घटनाको तत्काल र निष्पक्ष छानबिन गर्न विशेष छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न संघीय सरकार र मधेस प्रदेश सरकारसँग माग गरेका छन्। छानबिनका क्रममा अस्पतालका कुनै कर्मचारी वा जिम्मेवार व्यक्ति दोषी देखिएमा उनीहरूलाई कानुनी दायरामा ल्याउनसमेत उनले माग गरेका छन्।

उनले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै अस्पतालमा आउने कुनै पनि बिरामीलाई आर्थिक अवस्थाका आधारमा उपचारबाट वञ्चित गर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।

“स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आर्थिक अभावकै कारण कुनै महिलाले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद र गम्भीर विषय हो,” गुप्ताको भनाइ छ।

नेपाली कांग्रेस मधेस प्रदेशले यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन अस्पतालको सेवा प्रणालीमा सुधार, प्रभावकारी अनुगमन तथा विपन्न नागरिकका लागि सहज स्वास्थ्य सेवा सुनिश्चित गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया