चितवन — नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीको केन्द्रीय विशेष महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गर्दै नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याएका छन्।
खनालका अनुसार २०८२ भदौ २३ र २४ पछिको विकसित राजनीतिक परिस्थितिले कांग्रेसभित्र महाधिवेशनको विषयलाई गम्भीर बनाएको छ। पार्टीको १४औँ महाधिवेशनको कार्यकाल मंसिर मसान्त २०८२ मा समाप्त हुने भएकाले नियमित महाधिवेशन नै सबैभन्दा उपयुक्त निकास भएको उनको भनाइ छ। तर यदि त्यो सम्भव नभए विशेष महाधिवेशनमार्फत भए पनि केन्द्रीय समितिबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए।
यसै सन्दर्भमा नेपाली कांग्रेस चितवनले करिब ९० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा भेला आयोजना गरी हस्ताक्षरसहित केन्द्रमा पत्राचार गरिसकेको सभापति खनालले जानकारी दिए।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विधानको धारा १७(२) अनुसार आह्वान गरेको पौष २७ र २८ गतेको दोस्रो विशेष अधिवेशनबारे धारणा स्पष्ट पार्दै खनालले केन्द्रीय शीर्ष नेताहरूको उपस्थितिलाई अनिवार्य बताएका छन्। केन्द्रीय नेतृत्व सहभागी भए आफू पनि चितवन कांग्रेसको सभापतिको हैसियतले विशेष अधिवेशनमा सहभागी हुने उनले स्पष्ट पारे।