विशेष महाधिवेशन हस्ताक्षर फिर्ता गराउने कार्यक्रम तीव्र, विशेष महाधिवेशनको औचित्य नरहेको प्रत्येक जिल्लामा परिपत्र जारी

tejnewskhabar.com

काठमाडौं, २२ पुस ।

नेपाली कांग्रेसमा प्रस्तावित विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै गएको छ । विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएका हस्ताक्षर फिर्ता गराउने कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ ।

पार्टी स्रोतका अनुसार संस्थापन पक्षले विशेष महाधिवेशनको सम्भावनालाई कमजोर पार्ने उद्देश्यले केन्द्रीयदेखि जिल्ला तहसम्म दबाबमूलक अभियान सञ्चालन गरिरहेको छ । यही क्रममा महामन्त्री गगन थापालाई लक्षित गर्दै विशेष महाधिवेशन असफल बनाउने रणनीतिअन्तर्गत ‘हुइप’ शैलीको निर्देशन जारी गरिएको आरोप लागेको छ ।

केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने र वर्तमान कार्यसमितिको समयावधि थप गर्ने सर्वसम्मत निर्णय गरिसकेको भन्दै विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाइएको छ । वर्तमान अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको तर्क गर्दै हस्ताक्षर फिर्ता लिन नेताहरूलाई दबाब दिइएको जनाइएको छ ।

यसैबीच, कपिलवस्तु जिल्लाबाट महाधिवेशन प्रतिनिधि रहेका एक नेताले पार्टीको संगठनात्मक सुदृढीकरण, आन्तरिक एकता र दीर्घकालीन हितलाई ध्यानमा राख्दै आफूले विशेष महाधिवेशनका लागि दिएको हस्ताक्षर औपचारिक रूपमा फिर्ता लिएको जानकारी गराएका छन् ।

विशेष महाधिवेशनको माग गर्ने पक्ष भने संस्थापन समूहले डर र दबाबमार्फत आन्तरिक लोकतन्त्र कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै आएको छ । कांग्रेसभित्र विशेष महाधिवेशन हुने–नहुने विषय अब शक्ति संघर्षको केन्द्रमा पुगेको विश्लेषण गरिएको छ ।



प्रतिक्रिया