मधेस सबै समुदायको साझा घर हो, विभाजन होइन एकतामा शक्ति छ” — मुख्यमन्त्री कृष्ण प्रसाद यादव

tejnewskhabar.com

जनकपुर, १९ गते — मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहँदै आएको उल्लेख गर्दै विविधता नै मधेशको सामर्थ्य र शक्ति भएको बताउनुभएको छ। उहाँले मधेशको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाजलाई कमजोर बनाउने स्पष्ट पार्नुभयो।

हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान नदिने धारणा राख्नुभयो। उहाँका अनुसार हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पुर्‍याउने भएकाले कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।

धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजनले समग्र समाजलाई कमजोर बनाउने उल्लेख गर्दै उहाँले सभ्य समाजमा यस्ता गतिविधि अस्वीकार्य रहेको बताउनुभयो। प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र सधैं रहने उहाँको भनाइ थियो।

मुख्यमन्त्री यादवले शान्ति सुरक्षा मजबुत बनाइने र अफवाह फैलाउने तथा घृणात्मक गतिविधिमा संलग्न जो कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने विश्वास दिलाउनुभयो। साथै उहाँले सबै धर्मगुरु, राजनीतिक दल, युवा र सचेत नागरिकलाई संयम अपनाउन, संवादको बाटो रोज्न र सहअस्तित्व कायम राख्न आग्रह गर्नुभयो।

“समस्याको समाधान सधैं संवादबाट हुन्छ, द्वन्द्वबाट होइन,” उहाँले जोड दिँदै भन्नुभयो, “मधेश शान्ति, सद्भाव र मानवीय मूल्यको प्रतीक रहँदै आएको छ र भविष्यमा पनि त्यसै रूपमा रहिरहनेछ।”

उहाँले पछिल्लो समय भएका क्षति तथा विध्वंसात्मक गतिविधिप्रति खेद व्यक्त गर्दै शान्ति, सद्भाव र एकताको सन्देश दिनुभएको छ।

प्रतिक्रिया