सार्वजनिक विद्यालयको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

tejnewskhabar.com

काठमाडौं १६ गते पुस। राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसमेत ६ जनाविरुद्ध गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरिएको छ।

मिति २०८२ साल ०९ महिना १६ गते जारी गरिएको प्रेस विज्ञप्तिअनुसार जिल्ला कास्कीको साबिक कन्धानीडाँडा गाउँ विकास समिति वडा नं. ०४ (परिवर्तित लेखनाथ नगरपालिका वडा नं. ४, हाल पोखरा महानगरपालिका वडा नं. २६) स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको सार्वजनिक विद्यालय परिसरभित्र रहेको कित्ता नं. ७२५ को ३–३–०–० रोपनी क्षेत्रफलको जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराइएको पाइएको हो।

अनुसन्धानका क्रममा तत्कालीन भूमि आयोगका अध्यक्ष तथा सदस्यहरू र मालपोत कार्यालयका जिम्मेवार पदाधिकारीहरू मिलेमतोमा पदको दुरुपयोग गरी सार्वजनिक जग्गा निजीकरण गरिएको, जसबाट राज्य तथा सार्वजनिक हितमा हानी पुगेको ठहर गरिएको छ।

यस सम्बन्धमा प्राप्त उजुरीमाथि विस्तृत अनुसन्धान पश्चात् सम्बन्धित व्यक्तिहरूले भ्रष्टाचार निवारण ऐन विपरीत कार्य गरेको निष्कर्षसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाइएको छ।

प्रतिक्रिया