निजगढ (बारा) — बाराको निजगढमा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिरको आयोजनामा सञ्चालन भइरहेको धर्म महामहोत्सव २०८२ अन्तर्गत आयोजित भव्य कलश यात्रामा मधेश प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कृष्ण प्रसाद यादव सहभागी हुनुभएको छ।
धार्मिक श्रद्धा, सांस्कृतिक एकता र सामाजिक सद्भावको सन्देश बोकेको उक्त कलश यात्रा निजगढका विभिन्न भाग परिक्रमा गर्दै मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो। कलश यात्रामा महिला, पुरुष, युवायुवती तथा धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले धर्म, संस्कृति र परम्पराले समाजलाई एकतामा बाँध्ने काम गर्ने उल्लेख गर्नुभयो। उहाँले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षण मधेश प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै यस्ता धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूलाई सरकारले आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
धर्म महामहोत्सव २०८२ अन्तर्गत विभिन्न धार्मिक प्रवचन, भजन–कीर्तन, सांस्कृतिक कार्यक्रम तथा सामाजिक गतिविधिहरू सञ्चालन हुने आयोजक समितिले जनाएको छ। मुख्यमन्त्री यादवको सहभागिताले महोत्सवको गरिमा थप बढाएको स्थानीयवासी तथा आयोजकहरूको भनाइ छ।