६ लाख फारममध्ये डेढ लाख सदस्यको विवरण सर्भरमा इन्ट्री, १०० प्रतिशत नयाँ सदस्य थप्ने कांग्रेसको रणनीति

tejnewskhabar.com

काठमाडौँ, पुस १० गते  — नेपाली कांग्रेसले हालसालै करिब डेढ लाख नयाँ क्रियाशील सदस्यता थपेको छ। पार्टीका महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिले देशभर सदस्यता विस्तारलाई तीव्र बनाएको जनाएको छ।

समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार पार्टीले देशभर ६ लाख नयाँ सदस्यता फारम वितरणका लागि पठाएको थियो। तीमध्ये अहिलेसम्म करिब डेढ लाख सदस्यको विवरण पार्टीको केन्द्रीय सर्भरमा सफलतापूर्वक इन्ट्री भइसकेको छ।

तर, बारा क्षेत्र नं. १खोटाङ जिल्लामा भने नयाँ सदस्यता प्रक्रिया अझै सुरु हुन सकेको छैन। खोटाङमा जिल्ला सभापति निलम्बनमा परेकाले संगठनात्मक प्रक्रिया ठप्प भएको छ। त्यस्तै, बारा–१ मा विगतदेखिको आन्तरिक विवादका कारण फारम वितरण र पुराना सदस्यताको नवीकरण दुवै रोकिएको बताइएको छ।

पार्टी नेतृत्वले यसपटक शतप्रतिशत नयाँ सदस्य थप्ने महत्वाकांक्षी लक्ष्य लिएको छ। यसअघि सम्पन्न १४औँ महाधिवेशनमा भने जम्मा २५ प्रतिशत मात्रै नयाँ क्रियाशील सदस्य थपिएको थियो।

नेतृत्व तहले सदस्यता विस्तारलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक प्रतिस्पर्धाका लागि निर्णायक कदमको रूपमा लिएको छ। विवाद र अवरोध समाधान भएसँगै बाँकी जिल्लामा पनि सदस्यता प्रक्रिया तीव्र बनाइने कांग्रेसको भनाइ छ।


प्रतिक्रिया