प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक ५१औँ दीक्षान्त समारोह सम्पन्न

tejnewskhabar.com

काठमाडौँ १० गते पुस— नेपाल सरकारका प्रधानमन्त्री सुशील कार्कीको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। दीक्षान्त समारोहमा विभिन्न संकाय र तहका गरी ८९ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् भने करिब १६ हजार विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भई औपचारिक रूपमा दीक्षित भएका छन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दीक्षित सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। उहाँले शिक्षा नै राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै ज्ञान, सीप र नैतिकताको सही प्रयोगबाट देशको समृद्धिमा योगदान दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

प्रधानमन्त्री कार्कीले अभिभावकहरूको त्याग, धैर्य र निरन्तर सहयोगका कारण विद्यार्थीहरूले आजको सफलता हासिल गर्न सकेको भन्दै उनीहरूप्रति सम्मान प्रकट गर्नुभयो। साथै, शिक्षण क्षेत्रमा समर्पित प्राध्यापक, शिक्षक तथा विश्वविद्यालय परिवारको योगदानको पनि उच्च मूल्यांकन गर्नुभयो।

उहाँले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको मेरुदण्डका रूपमा स्थापित भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा अझ सशक्त बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

५१औँ दीक्षान्त समारोह त्रिभुवन विश्वविद्यालयको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा स्मरणीय बनेको विश्वविद्यालय प्रशासनले जनाएको छ।



प्रतिक्रिया