काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र वैश्य समाज महासंघ तथा महासंघअन्तर्गतका विभिन्न जातीय संगठनका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिहरूबीच सौहार्दपूर्ण भेटघाट तथा समसामयिक राजनीतिक विषयमा सार्थक छलफल सम्पन्न भएको छ।
भेटका क्रममा देशको वर्तमान राजनीतिक अवस्था, सामाजिक समावेशिता, वैश्य समुदायको राष्ट्र निर्माणमा रहेको भूमिका, समुदायको सम्मानजनक सहभागिता सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा विस्तृत विचार–विमर्श भएको सहभागीहरूले बताएका छन्।
छलफलमा लोकतान्त्रिक मूल्य–मान्यता, समावेशी प्रतिनिधित्व र सबै समुदायको सक्रिय सहभागितामार्फत मुलुकको राजनीतिक तथा सामाजिक विकासलाई थप सुदृढ बनाउने विषयमा समेत जोड दिइएको थियो।
कार्यक्रममा पूर्वमन्त्री चन्दा कुमारी चौधरी, जयमंगल जैसवाल, प्रमेश्वर महासेठ, नितेश कुमार गुप्ता, कपिल साह लगायत वैश्य समाज महासंघ तथा विभिन्न जातीय संगठनका राष्ट्रिय अध्यक्ष एवं जिम्मेवार प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।