जनकपुरधाम, पुस ०६ — मधेश प्रदेशसभाको सभामुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्राप्त गर्दै यादव सभामुखमा निर्वाचित भएका हुन्।
प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए। मतदानमा यादवले ७२ मत प्राप्त गरे भने उनको विपक्षमा २४ मत खसेको थियो।
पहिलो प्रस्तावमै मत विभाजन भई यादव निर्वाचित भएपछि नेकपा एमालेका तर्फबाट त्रिलोकी प्रसादलाई सभामुख बनाउने उद्देश्यले दर्ता गरिएको प्रस्ताव स्वतः खारेज भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नवनिर्वाचित सभामुख यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी यसअघिको कार्यकालमा पनि प्रदेशसभा सदस्यको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्।
६ पुस २०८२, आईतबार ०६:३७ मा प्रकाशित