कान्ति बाल अस्पतालको ६४औँ वार्षिकोत्सव सम्पन्न, समस्या समाधानमा मन्त्रालयको पूर्ण सहयोग रहने मन्त्री गौतमको प्रतिबद्धता

tejnewskhabar.com

काठमाडौं२२ गते । कान्ति बाल अस्पतालले आज २०८२ साल पुस २२ गते आफ्नो स्थापनाको ६४औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले अस्पतालभित्र देखिएका समस्या सकेसम्म आन्तरिक रूपमा समाधान गर्दै सेवाग्राहीबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ।

मन्त्री गौतमले वर्तमान आर्थिक अवस्थाका कारण नयाँ ठूला आयोजना तत्काल अघि बढाउन कठिनाइ रहेको जानकारी गराउँदै अस्पताल सञ्चालनमा कुनै किसिमको समस्या देखिएमा जुनसुकै समयमा मन्त्रालयसँग छलफल गर्न आग्रह गर्नुभयो। उहाँले थोरै बजेटबाट समाधान गर्न सकिने समस्या भए मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

कार्यक्रममा बोल्दै उहाँले कान्ति बाल अस्पताललाई भविष्यमा Institute of Child Health का रूपमा विकास गर्ने विषयमा मन्त्रालय सधैं सकारात्मक रहेको उल्लेख गर्नुभयो। साथै, अस्पताललाई १ हजार बेडको अत्याधुनिक बाल स्वास्थ्य संस्थाका रूपमा विस्तार गर्न आवश्यक नीतिगत निर्णयहरूका लागि मन्त्रालयले सक्रिय र सकारात्मक भूमिका खेल्ने स्पष्ट पार्नुभयो।

बाल स्वास्थ्य सेवामा ऐतिहासिक योगदान पुर्‍याउँदै आएको कान्ति बाल अस्पताललाई थप प्रभावकारी, गुणस्तरीय र आधुनिक बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको सन्देश मन्त्री गौतमको भनाइबाट प्रस्ट देखिएको छ।

प्रतिक्रिया