काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत महामन्त्री गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति प्रस्ताव गरिएको छ। समावेशी प्रतिनिधित्व, पुस्तान्तरण र संगठन सुदृढीकरणलाई मुख्य आधार मानेर तयार गरिएको यस प्यानलमा सबै प्रदेश, समुदाय, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, अपाङ्गता भएका तथा पिछडिएका क्षेत्रका प्रतिनिधिहरूलाई समेटिएको छ।
प्रस्तावित केन्द्रीय कार्यसमितिअनुसार सभापति पदमा गगन कुमार थापा रहने छन्। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल प्रस्तावित छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे चयन भएका छन्।
त्यसैगरी, केन्द्रीय सह–महामन्त्री पदमा महिला तर्फ डा. डिला संग्रौला पन्त, दलिततर्फ प्रकाश रसाईली ‘स्नेही’, आदिवासी जनजातितर्फ बहादुर सिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रबाट कर्ण बहादुर बुढा प्रस्तावित भएका छन्।
केन्द्रीय सदस्यतर्फ खुल्ला, महिला, प्रदेशगत तथा विभिन्न समावेशी समूहबाट गरी ठूलो संख्यामा नेताहरू समेटिएका छन्। खुल्ला केन्द्रीय सदस्यमा गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह के.सी., चिनकाजी श्रेष्ठ, विनोद चौधरी, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, सुवास पोखरेललगायत ३५ जना रहेका छन्।
प्रदेशगत रूपमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट महिला र खुल्ला दुवै तर्फ प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यस्तै दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै कोटाबाट केन्द्रीय सदस्य चयन गरिएको छ।
पार्टीभित्र लामो समयदेखि उठ्दै आएको नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र समावेशी संरचनाको मागलाई सम्बोधन गर्ने गरी यो प्यानल तयार गरिएको नेताहरूको भनाइ छ। प्रस्तावित टिमले कांग्रेसलाई आधुनिक, जनमुखी र प्रतिस्पर्धी पार्टीका रूपमा पुनःस्थापित गर्ने दाबी गरेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार गगन थापाको नेतृत्वमा आएको यो संरचनाले नेपाली कांग्रेसभित्र नयाँ ऊर्जा भर्ने र आगामी निर्वाचन केन्द्रित संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।