काठमाडौं, २२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थरुहट/थारुवान अभियन्ताहरूबीच बृहत्तर राजनीतिक समायोजनसम्बन्धी सहमति भएको छ। सामाजिक न्याय, सुशासन र समावेशी लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने साझा उद्देश्यसहित दुई पक्षबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो।
सहमति अनुसार, नेपालमा सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक–सामाजिक रूपान्तरण तथा समावेशी राज्य संरचना निर्माणका लागि संयुक्त रूपमा अघि बढ्ने निर्णय गरिएको छ। विगतका जनआन्दोलन, संघर्ष तथा बलिदानको सम्मान गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सहमति पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्दै पार्टीलाई थप सशक्त र व्यापक बनाउने उल्लेख छ। साथै, थरुहट/थारुवान क्षेत्रको पहिचान, भाषा, संस्कृति र अधिकार संरक्षणका विषयलाई संवैधानिक मर्मअनुसार अघि बढाइने सहमति भएको छ।
टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै शान्ति–सुरक्षा तथा न्यायसँग सम्बन्धित आयोगका सिफारिसहरू कार्यान्वयन गर्न पहल गर्ने सहमति पनि गरिएको छ। निजामती सेवा, न्यायिक निकाय, सुरक्षा निकायलगायत राज्यका सबै संरचनामा आरक्षित वर्गको समानुपातिक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
सहमति पत्रमा क्षेत्रीय, जातीय, भाषिक तथा सांस्कृतिक पहिचानका आधारमा राजनीतिक सहमति विस्तार गर्दै वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माणमा जोड दिइएको छ।
उक्त सहमति पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु र सुरेन्द्र चौधरी तथा नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले हस्ताक्षर गरेका छन्।