काठमाडौँ ३ गते । काठमाडौँ महानगरपालिका वडा नं. ३२ (कोटेश्वर) को नयाँ प्रशासकीय भवनको आज शिलान्यास गरिएको छ। मनोहरा जग्गा एकीकरण आयोजनामार्फत प्राप्त जग्गामा निर्माण हुन लागेको उक्त भवन ४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा फैलिनेछ।
भवन निर्माणका लागि करिब ११ करोड ७९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भइसकेको जनाइएको छ। नयाँ प्रशासकीय भवन निर्माणपछि वडा कार्यालयबाट प्रदान गरिने सेवाहरू थप व्यवस्थित, सहज र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख संगीता डंगोल लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै महानगर नेतृत्वले आधुनिक र सुविधासम्पन्न पूर्वाधार विकासमार्फत स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।