काठमाडौँ १७ गते पुस। प्रेस काउन्सिल नेपालले पत्रपत्रिका समरीक्षण तथा मूल्याङ्कन विशेषज्ञ (Roster) को सूची अद्यावधिक गर्नका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ। पत्रपत्रिकाको वर्गीकरण र मूल्याङ्कन प्रक्रिया प्रभावकारी बनाउन विशेषज्ञको आवश्यकता परेकाले उक्त सूचना सार्वजनिक गरिएको काउन्सिलले जनाएको छ।
सूचना अनुसार पत्रकारिता तथा आमसञ्चार विषयमा कम्तीमा ७ वर्ष अध्ययन वा अध्यापन अनुभव भएका, वा पत्रकारितामा स्नातक गरी ७ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। त्यस्तै अन्य विषयमा स्नातक गरी कम्तीमा १० वर्ष सम्पादक वा समाचार प्रमुखका रूपमा काम गरेको अनुभव भएकाहरू पनि योग्य मानिनेछन्।
हाल कुनै पनि पत्रपत्रिकामा संलग्न नरहेका व्यक्तिहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यद्यपि रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा संलग्न व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। यसअघि पत्रपत्रिका वर्गीकरण तथा मूल्याङ्कनमा काम गरिसकेका विज्ञलाई विशेष प्राथमिकता दिइने प्रेस काउन्सिल नेपालले जनाएको छ।
आवेदन दिने क्रममा आफ्नो योग्यता र अनुभव खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। आवश्यक कागजात नपुगेका आवेदनलाई विशेषज्ञ सूची (Roster) मा समावेश नगरिने स्पष्ट पारिएको छ। साथै, विगतमा सूचीमा समावेश भई अद्यावधिक नगरिसकेका व्यक्तिहरूले पुनः आवेदन दिन नपाउने पनि सूचनामा उल्लेख छ।
प्रेस काउन्सिल नेपालका अनुसार यस सम्बन्धी थप जानकारीका लागि काउन्सिलको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।