ठेक्का प्रक्रियामा किर्ते र सूचना लुकाएको अख्तियारको ठहर

tejnewskhabar.com

काठमाडौँ, पुस १० : बहुदरमाई नगरपालिकाको सडक ठेक्कामा अनियमितता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्म सडक कालोपत्रे गर्ने ठेक्कामा कमिसनको चलखेल गरिएको र त्यसका लागि सार्वजनिक सूचना नै लुकाइएको पुष्टि भएपछि अख्तियारले कानुनी कारबाही अघि बढाएको हो।

अख्तियारको अनुसन्धानअनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह–लेखापाल उपेन्द्र कुमार साहजन प्रतिबिम्ब दैनिकका प्रकाशक सञ्जय कुमार साहले आपसी मिलेमतोमा ठेक्का प्रक्रियालाई नियोजित रूपमा प्रभावित पारेका थिए।

सार्वजनिक खरिद ऐनअनुसार ठेक्कासम्बन्धी सूचना राष्ट्रिय वा स्थानीय स्तरको पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने व्यवस्था भए पनि उनीहरूले पत्रिकाको एउटा प्रति मात्र छापी (सेटिङका लागि) सर्वसाधारण र अन्य प्रतिस्पर्धी व्यवसायीलाई जानकारी नै नहुने गरी ठेक्का प्रक्रिया अघि बढाएका थिए।

उक्त मितिमा सम्बन्धित पत्रिकामा कुनै पनि ठेक्कासम्बन्धी सूचना प्रकाशित भएको प्रमाण प्रेस काउन्सिल नेपालको अभिलेखमा समेत नपाएपछि यो कार्य किर्ते तथा छलपूर्ण भएको पुष्टि भएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभएको छ।

अख्तियारले यस घटनालाई सार्वजनिक खरिद प्रक्रियामा गम्भीर भ्रष्टाचार र नियोजित षड्यन्त्र भएको ठहर गर्दै सम्बन्धित व्यक्तिहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसार सजाय मागदाबी गरेको छ।



प्रतिक्रिया