काठमाडौँ, २३ गते । नेपाल सरकारका प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेश प्रमुख माननीय सुरेन्द्र लाभबीच आज बालुवाटारमा शिष्टाचार भेट सम्पन्न भएको छ।
भेटका क्रममा हालै उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे गहन छलफल भएको थियो। दुवै पक्षले देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न राज्यका तर्फबाट भइरहेका प्रयासहरूको समीक्षा गरेका छन्।
देश निर्वाचनको महत्त्वपूर्ण चरणतर्फ अघि बढिरहेको सन्दर्भमा सम्भावित चुनौतीहरूप्रति सतर्क रहँदै राज्यका सबै संयन्त्र परिचालन गरी अनुकूल वातावरण निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ।
भेटमा मधेस प्रदेश प्रमुख माननीय सुरेन्द्र लाभले समाजका विविध तह र समुदायबीच सन्तुलित, अभिभावकीय तथा समन्वयकारी भूमिका निर्वाह गरिरहनुभएको उल्लेख गर्दै यस कार्यमा सबै पक्षको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले समेत लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन शान्तिपूर्ण वातावरण कायम राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।