ऊर्जा, पूर्वाधार र शहरी विकासमा सहकार्य गर्ने सहमति, मन्त्री कुलमान घिसिङ र मेयर बालेन शाहबीच भेट

tejnewskhabar.com

काठमाडौं १० गते पुस : आज बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ।


भेटका क्रममा ऊर्जा व्यवस्थापन, शहरी पूर्वाधार विकास, यातायात सुधार तथा दीगो शहरीकरणका विषयमा छलफल भएको जनाइएको छ। दुवै पक्षले आपसी समन्वय र सहकार्यलाई सुदृढ गर्दै काठमाडौं महानगरको समग्र विकासका लागि सँगै अघि बढ्ने सहमति गरेका छन्।


मन्त्री घिसिङले संघ र स्थानीय तहबीचको सहकार्यबाट मात्रै प्रभावकारी विकास सम्भव हुने बताउँदै महानगरसँग मिलेर काम गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो। मेयर शाहले पनि शहरी विकास, पूर्वाधार सुधार र नागरिक सेवाको गुणस्तर बढाउन संघीय सरकारसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।


भेटले आगामी दिनमा काठमाडौं महानगरभित्र ऊर्जा, यातायात र शहरी पूर्वाधारका परियोजनाहरूलाई गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया