निराशाको अन्त्य, नयाँ इतिहासको सुरुवात: रुख चिन्हमा मतदान गरेर परिवर्तनको नेतृत्व छानौँ

tejnewskhabar.com

✍️ विश्व प्रकाश शर्मा

नेपाली कांग्रेस युवा नेता (झापा) नेपाली कांग्रेस आज केवल एउटा चुनावी प्रतिस्पर्धामा उत्रिएको छैन; ऊ आफ्नै इतिहाससँग संवाद गर्दै नयाँ युगको ढोका खोल्ने निर्णायक मोडमा उभिएको छ। विगतका गल्ती, कमजोरी र चुकलाई लुकाएर होइन, स्वीकार गरेर अघि बढ्ने साहस कांग्रेसले देखाएको छ। लोकतन्त्रमा गल्तीबाट सिकिन्छ, लडेर उठिन्छ र पटक–पटक ढलेरै भविष्यको बलियो आधार तयार हुन्छ। यही आत्मस्वीकृति र आत्मसुधार आजको कांग्रेसको सबैभन्दा ठूलो शक्ति बनेको छ।


विशेष महाधिवेशनमार्फत कांग्रेसले दशकौँदेखि पद र प्रभावलाई ‘लाल किल्ला’झैँ कब्जा गरेर बसेको जड नेतृत्वलाई लोकतान्त्रिक प्रक्रियाबाट परिवर्तन गरेको छ। यो कुनै व्यक्तिगत प्रतिशोध होइन, पुस्तान्तरणको ऐतिहासिक आवश्यकता हो। पार्टीभित्रको द्वन्द अब नयाँ नेतृत्वको उदयमा रूपान्तरण भइसकेको छ। त्यसैको परिणामस्वरूप कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा कुनै पनि किसिमको गुटबन्दी, अपवित्र तालमेल वा भागबण्डा नगरी स्वच्छ, सक्षम र जनतासँग सिधा संवाद गर्ने उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएको छ।


आजको युवा पुस्ता—विशेषगरी जेन्जी—ले खोजेको नेतृत्व भाषणमा सीमित होइन; जवाफदेही, पारदर्शी र संवेदनशील व्यवहारमा आधारित हो। यही यथार्थलाई आत्मसात् गर्दै नेपाली कांग्रेसले नेतृत्व परिवर्तनलाई व्यवहारमै उतारेको छ। अबको कांग्रेस सत्ता केन्द्रित होइन, जनतामुखी हुनेछ। यही स्पष्ट दृष्टिकोणसहित कांग्रेस गगन थापाको नेतृत्वमा अगाडि बढ्ने अडानमा छ। गगन थापा, विश्व प्रकाश शर्मा, गुरु घिमिरे, प्रदीप पौडेललगायतका नेताहरू केवल परिवर्तनका नारा होइनन्—उनीहरू भविष्यको जिम्मेवारी बोक्ने प्रतिनिधि हुन्, जहाँ पारदर्शिता, उत्तरदायित्व र संवेदनशीलता शासनको आधार हुनेछ।


नेपाली कांग्रेस अब नातावाद, पूँजीवाद, भाउजुवाद र डनवादको राजनीतिमा सीमित रहने छैन। टिकटदेखि निर्णयसम्म पहुँच होइन, क्षमता र इमानदारीको मूल्याङ्कन हुनेछ। पार्टीभित्रको संघर्षले नै नयाँ राजनीतिक संस्कार जन्माएको छ, र यही संघर्षबाट कांग्रेसले पुस्तान्तरणको उदयलाई साकार बनाइसकेको छ। कांग्रेस युवाको आवाज बन्न चाहन्छ—तर अनुभव बोकेका बुढा मतदातालाई उपेक्षा गरेर होइन, उनीहरूको अनुभवलाई सारथि बनाएर अघि बढ्न चाहन्छ।


पछिल्लो किचलो राजनीतिले थकित र निराश बनेका सम्पूर्ण मतदाताप्रति कांग्रेसको स्पष्ट र भावनात्मक आग्रह छ—हतोत्साहित नहुनुहोस्। निराशा समाधान होइन, जिम्मेवार विकल्प नै समाधान हो। आजको जिम्मेवार विकल्प नेपाली कांग्रेस हो। यो निर्वाचन केवल सत्ता परिवर्तनको प्रश्न होइन; विगतका कमजोरीमाथि जित हासिल गर्दै नयाँ इतिहास कोर्ने अवसर हो।


त्यसैले लोकतान्त्रिक परिवर्तन, जवाफदेही नेतृत्व र आशाको राजनीतिका लागि सम्पूर्ण मतदातासमक्ष नेपाली कांग्रेसको विनम्र तर दृढ आह्वान छ—गल्तीबाट सिकौँ, लडेर उठौँ र भविष्य कोर्न रुख चिन्हमा मतदान गरौँ। यही मतले कांग्रेसलाई फेरि एकपटक जनताको मर्म बुझ्ने, जनताको सच्चा साथी बन्ने अवसर दिनेछ।


“हिजोको लडाइँ राजनीतिक व्यवस्था परिवर्तनका लागि थियो, आजको लडाइँ राजनीतिक अवस्था परिवर्तनका लागि हो।”

प्रतिक्रिया