सापटीको पैसाको विवादमा साथीको हत्या, काठमाडौं अदालतको फैसला कहिले ? पीडित परिवार प्रतीक्षामा

tejnewskhabar.com

काठमाडौँ । सापटी दिएको पैसाको विवादका कारण एक युवकले आफ्नै साथीको हत्या गरेको घटना सार्वजनिक भएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–माकलबारी क्षेत्रमा भएको उक्त घटनाले स्थानीयवासीलाई त्रसित बनाएको थियो ।

सर्लाही घर भई गोकर्णेश्वर बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या उनकै साथी २२ वर्षीय निपु मण्डलले गरेको खुलेको छ। मण्डलले साहसँग लिएको एक लाख रुपैयाँ फिर्ता गर्न नसकेपछि योजनाबद्ध रूपमा हत्या गरेको आरोप लागेको छ।


प्रहरीका अनुसार मण्डलले करिब ९ महिना अघि साहसँग एक महिनाभित्र फिर्ता गर्ने सर्तमा रकम सापटी लिएका थिए। तर लामो समयसम्म पैसा फिर्ता नगरेपछि साह तनावमा थिए। सोही क्रममा चैत ११ गते पैसा फिर्ता दिने बहानामा मण्डलले साहलाई आफ्नो वर्कशपमा बोलाएका थिए।


साह वर्कशप पुगेपछि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। मण्डलले सुरुमा साह पैसा लिएर गएको भन्दै भ्रामक जानकारी दिएका थिए। तर वर्कशप परिसरमा रगतका दाग र चप्पल फेला परेपछि परिवारले प्रहरीमा उजुरी दिएको थियो।


त्यसपछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदा मण्डलले हत्या स्वीकार गरेका थिए। उनले आफ्ना बाबु र अन्य साथीहरूसँग मिलेर साहको घाँटी कसेर र टाउकोमा रड प्रहार गरी हत्या गरेको बयान दिएका छन्।


हत्या पश्चात शव वर्कशप परिसरमै गाडिएको अवस्थामा फेला परेको थियो। प्रहरीले शव उत्खनन गरी पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको जनाएको छ।


घटनामा संलग्न मण्डलका बाबु उत्तम मण्डलसहित वर्कशपमा कार्यरत केही व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


यता, पीडित परिवारले सुरुदेखि नै प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको आरोप लगाएका छन्। प्रारम्भिक सूचनाहरू दिँदा पनि बेवास्ता गरिएको र त्यसका कारण चार दिनसम्म शव फेला पर्न नसकेको उनीहरूको गुनासो छ।


घटनाको एक वर्ष बितिसक्दा पनि मुद्दाको फैसला नभएको भन्दै पीडितकी आमाले असन्तुष्टि व्यक्त गरेकी छन्। उनले न्यायका लागि पटक–पटक अदालत धाउँदा पनि छिटो फैसला नभएको गुनासो गर्दै सरकारसँग छिटो न्याय दिलाइदिन आग्रह गरेकी छन्।


पीडितकी आमाले आफ्नो छोरालाई योजनाबद्ध रूपमा फसाएर संगठित अपराध गरिएको दाबी गर्दै घटनामा संलग्न सबैलाई कडा कारबाही गर्न माग गरेकी छन्। “अपराधीलाई हदैसम्मको कारबाही भए मात्र मेरो छोराको आत्माले शान्ति पाउनेछ,” उनले भनिन्।


यस घटनाले पैसाको विवादले मानवीय सम्बन्धलाई समेत गम्भीर रूपमा प्रभावित पार्न सक्ने यथार्थलाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया