कमला नदीको पुल एक महिनाभित्र सञ्चालनमा आउने दाबी, मन्त्री गुप्ताद्वारा स्थलगत निरीक्षण

tejnewskhabar.com

सिराहा, १० पुस : खेलकूद मन्त्री बब्लु गुप्ता र जेनजी मधेसका संयोजक शिव यादवले कमला नदीस्थित पुलको निर्माण तथा मर्मत कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि मन्त्री गुप्ताले पुल निर्माण तथा मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको बताउँदै एक महिनाभित्रै पुल सञ्चालनमा आउने दाबी गर्नुभएको हो।

मन्त्री गुप्ताका अनुसार तत्काल नयाँ पुल निर्माण गर्न समय लाग्ने भएकाले हाल मर्मत भइरहेको यही पुललाई सञ्चालनमा ल्याउन प्राथमिकता दिइएको हो। “अहिले यही पुल सञ्चालनमा आओस्, नयाँ पुल बनाउन समय लाग्छ। स्थानीयवासी यसबाट खुसी छन्,” उहाँले भन्नुभयो।

उहाँले पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, विद्यार्थी, व्यापारी तथा यात्रुहरूलाई आवतजावतमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो।

जेनजी मधेसका संयोजक शिव यादवले पनि पुल यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै सम्बन्धित निकायलाई काममा ढिलाइ नगर्न आग्रह गर्नुभयो। उहाँले पुल सञ्चालनले स्थानीय जनजीवन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

स्थानीयवासीहरूले लामो समयदेखि पुलको मर्मत तथा सञ्चालनको माग गर्दै आएका थिए। पछिल्लो निरीक्षणपछि निर्माण कार्यले तीव्रता पाएको भन्दै स्थानीयस्तरमा आशा र उत्साह बढेको छ।


प्रतिक्रिया