काठमाडौं, पुस १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच औपचारिक रूपमा पार्टी एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। दुवै दलले मुलुकको बदलिँदो राजनीतिक परिस्थिति, सुशासन, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यको सुदृढीकरणका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौतामा वर्तमान राजनीतिक प्रणालीप्रति बढ्दो जनअसन्तुष्टि, युवापुस्ताको सक्रिय सहभागिता र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै साझा उद्देश्यका लागि एकता गरिएको उल्लेख छ। २०८२ साल भदौ २३ र २४ गते भएका जनआन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति सम्मान व्यक्त गर्दै उनीहरूको बलिदानलाई सार्थक बनाउने संकल्प पनि सहमतिमा समेटिएको छ।
एकता पश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ कायम रहने, चुनाव चिन्ह ‘घण्टी’ नै रहने तथा केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ। पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने यथावत् रहने र अन्य नेतृत्व संरचना समायोजन गर्दै अघि बढ्ने उल्लेख गरिएको छ।
सम्झौताअनुसार उज्यालो नेपाल पार्टीका अभियान, नीति र संगठनात्मक संरचनालाई रास्वपाको कार्यक्रमसँग समायोजन गर्दै पार्टीलाई थप सशक्त बनाइनेछ। युवाको सहभागिता, योग्यता प्रणाली (मेरिटोक्रेसी), भ्रष्टाचारविरुद्ध कडा नीति, सुशासन र सामाजिक न्यायलाई प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि बढाइने बताइएको छ।
सम्झौतामा हस्ताक्षर गर्नेमा रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय तथा साक्षीका रूपमा बालेन्द्र शाह रहेका छन्। सहमति पत्र काठमाडौंमा पुस १४ गते हस्ताक्षर गरिएको हो।
दुवै दलले यो एकताले लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउँदै जनअपेक्षा अनुरूपको वैकल्पिक राजनीति स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।