रौतहट | गढीमाई नगरपालिका–८ मा निर्माण सम्पन्न भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियारको प्रमुख आतिथ्यता तथा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवसहित नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्त्री परियारले स्थानीय तहमा कृषि तथा पशुपन्छी सेवाको पहुँच विस्तारले किसानको उत्पादन, आम्दानी र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। नगर प्रमुख यादवले सेवा केन्द्रमार्फत कृषक तथा पशुपालकलाई प्रविधिमैत्री र प्रभावकारी सेवा प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो।
नव निर्मित सेवा केन्द्र सञ्चालनमा आएसँगै गढीमाई नगरपालिकाका कृषक तथा पशुपालकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।