काठमाडौँ, पुष २७
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन–२०८२ को पहिलो दिन आज उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। महाधिवेशन प्रतिनिधि, आम नेता–कार्यकर्ता तथा शुभेच्छुक समर्थकहरूको उल्लेख्य सहभागिताका साथ कार्यक्रम सफलतापूर्वक अघि बढेको पार्टीले जनाएको छ।
महाधिवेशनको उद्घाटनसँगै सुरु गरिएको प्रतिनिधि दर्ता प्रक्रियामा पनि उल्लेखनीय सहभागिता देखिएको छ। महाधिवेशन सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।
पार्टीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार प्रदेशगत तथा भ्रातृ–शुभेच्छुक एवं जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै दर्ता स्टल राखिएको थियो। पहिलो दिनको दर्ता विवरणअनुसार कोशी प्रदेशबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट ३९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्कतर्फ १५५ जना प्रतिनिधि दर्ता भएका छन्। यसरी पहिलो दिन कुल २६६२ जना प्रतिनिधि दर्ता भएका छन्।
महाधिवेशन सचिवालयले भोलि बिहान ९:०० बजेदेखि पुनः दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएको छ।
नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत पार्टीभित्र देखिएका संरचनात्मक र राजनीतिक विषयहरूमा गम्भीर छलफल हुने विश्वास व्यक्त गरेको छ।