काठमाडौँ २७ गते । नेपाली कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले काठमाडौँमा हुन लागेको पार्टीको विशेष महाधिवेशनलाई मधेस प्रदेशको प्रतिनिधित्व गर्दै समर्थन जनाएका छन्। आगामी २७ र २८ गते महामन्त्री गगनप्रसाद थापा र विश्वप्रकाश शर्माले लिएको निर्णयलाई स्वीकार गर्दै गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
मधेस प्रदेशमा नेपाली कांग्रेसका सबैभन्दा चर्चित प्रचारप्रसार नेतामध्ये एक मानिने गुप्ता संगठन निर्माणमा दिनरात खटिने योद्धाको रूपमा परिचित छन्। पार्टीका लागि निरन्तर समर्पित रहँदै आएका उनले विभिन्न अवसरबाट आफू वञ्चित हुनुपरेको भन्दै सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। यद्यपि उनले व्यक्तिगत असन्तुष्टिभन्दा माथि उठेर अन्याय र भ्रष्टाचारको विरुद्धमा आफू दृढतापूर्वक उभिएको स्पष्ट पारेका छन्।
पार्टीभित्र सुधार, पारदर्शिता र संस्थागत परिवर्तनको बहस चर्किरहेका बेला गुप्ताले पटक–पटक चर्चामा रहने महामन्त्रीद्वय गगनप्रसाद थापा र विश्वप्रकाश शर्माको पक्षमा उभिँदै विशेष महाधिवेशनलाई पार्टी सुधारको ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।
मधेस प्रदेशमा इमान्दार, निडर र संगठनप्रति समर्पित नेताका रूपमा चिनिने नितेश कुमार गुप्ताको समर्थनले विशेष महाधिवेशनको पक्षमा प्रदेशस्तरबाट थप राजनीतिक सन्देश प्रवाह गरेको विश्लेषण गरिएको छ।