महोत्तरी, १८ गते । मुसहर समुदायबाट पहिलोपटक एमबीबीएस अध्ययनका लागि फूल स्कलरसीपमा नाम निकाल्न सफल भएका पवन देव माझी आज हजारौँ युवाका लागि प्रेरणाको स्रोत बनेका छन्। महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–७, दनौलीस्थित एक विपन्न मुसहर परिवारमा जन्मिएका पवन देवको यो सफलता सजिलै प्राप्त भएको होइन।
आर्थिक अभाव, सामाजिक विभेद र सीमित स्रोतबीच पनि उनले शिक्षालाई आफ्नो मुख्य अस्त्र बनाए। विगत तीन वर्षदेखि निरन्तर संघर्ष गर्दै आएका पवन देवले दुईपटक प्रवेश परीक्षा पास गरे पनि स्कलरसीपमा नाम निकाल्न सकेका थिएनन्। यद्यपि, असफलताले उनलाई कमजोर बनाउनुको साटो अझ दृढ बनायो।
गत वर्ष उनले अन्य कोटाबाट एमबीबीएस फूल स्कलरसीपमा नाम निकाल्ने अवसर पाए। तर “पूर्ण मेरिटमै नाम निकाल्नुपर्छ” भन्ने आत्मविश्वासका कारण उनले त्यो अवसर पनि त्यागे। फेरि एक वर्ष कडा मेहनत र निरन्तर अध्ययन गरेपछि अन्ततः उनले पूर्ण मेरिटमै एमबीबीएस फूल स्कलरसीप हासिल गर्न सफल भएका छन्।
यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, मुसहर बस्ती र समग्र दलित समुदायका लागि ऐतिहासिक उपलब्धि हो। पुस्तौँदेखि शिक्षाबाट वञ्चित समुदायबाट आएका पवन देवले अब डाक्टर बन्ने सपना साकार पार्ने बाटो खुलेको छ।
तर, सफलता सँगसँगै अर्को चुनौती पनि उभिएको छ। स्कलरसीपले पढाइको शुल्क धान्ने भए पनि होस्टेल, खानपान र दैनिक जीवनयापन खर्च पवन देव र उनको परिवारका लागि गम्भीर समस्या बनेको छ। अत्यन्तै विपन्न पारिवारिक अवस्थाका कारण यी खर्च जुटाउन उनी असमर्थ छन्।
शिक्षा नै सामाजिक रूपान्तरणको बलियो आधार हो। पवन देवको सपना पूरा हुनु भनेको एउटा व्यक्तिको मात्र होइन, सम्पूर्ण मुसहर बस्ती र पछाडि पारिएका समुदायको उज्यालो भविष्यतर्फको यात्रा हो।
सहयोग गर्न चाहने संघ–संस्था, सामाजिक अभियन्ता, स्थानीय तह, तथा शुभेच्छुक व्यक्तिहरूले अगाडि बढेमा पवन देव जस्ता मेहनती र प्रतिभावान विद्यार्थीले देशकै सेवामा समर्पित डाक्टर बन्ने अवसर पाउनेछन्।
एक सानो सहयोगले ठूलो परिवर्तन सम्भव छ।