लोकतान्त्रिक मर्यादामाथि आघात : विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारप्रति नितिशकुमार गुप्ताको कडा आपत्ति

tejnewskhabar.com

जनकपुरधाम २२ गते । मधेस प्रदेश नेपाली कांग्रेसको प्रचार–प्रसार विभाग प्रमुख नितिशकुमार गुप्ताले नेपाली कांग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय नेता आदरणीय विमलेन्द्र निधिप्रति गरिएको दुर्व्यवहारप्रति गहिरो दुःख, खेद र गम्भीर आपत्ति जनाएका छन्।

आज नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुन जाने क्रममा निधिमाथि गरिएको दुर्व्यवहारले लोकतान्त्रिक मूल्य, राजनीतिक संस्कार र सभ्य असहमतिको मर्ममाथि ठेस पुगेको गुप्ताको भनाइ छ। उनले यस्तो घटना केवल एक व्यक्तिमाथिको अपमान मात्र नभई समग्र लोकतान्त्रिक प्रणालीमाथिकै चुनौती भएको स्पष्ट पारेका छन्।

गुप्ताले लोकतन्त्रमा शान्तिपूर्ण रूपमा आफ्ना विचार, असहमति र धारणा राख्ने अधिकार सबै नागरिकको साझा र मौलिक अधिकार भएको उल्लेख गर्दै असहमतिको नाममा अपमान, असहिष्णुता र दुर्व्यवहार गर्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

उनका अनुसार कुनै पनि परिस्थिति, आवेग वा बहानामा अरूको गरिमा, सम्मान र अधिकारमाथि आघात पुर्‍याउने कार्य निन्दनीय, आपत्तिजनक र लोकतन्त्रविरोधी हो।

गुप्ताले राजनीतिक मतभेदलाई शत्रुतामा रूपान्तरण गर्ने प्रवृत्तिले समाजमा विभाजन र अस्थिरता निम्त्याउने चेतावनी दिँदै सबै राजनीतिक दल, नेता र कार्यकर्ताहरूलाई संयम, सहिष्णुता, सम्मान र जिम्मेवारीपूर्ण राजनीतिक संस्कार अवलम्बन गर्न आग्रह गरेका छन्।

उनले लोकतान्त्रिक मूल्य, संविधानको मर्म र राजनीतिक शिष्टाचारको रक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता घटनाप्रति गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।



प्रतिक्रिया