वीरगंज, १५ गते पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा नैतिक संकटबाट गुज्रिरहेको बताएका छन्। सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विगत ३५ वर्षदेखि सरकारमा रहेका दलहरूको गलत नीति र असफल नेतृत्वका कारण देश आज यो अवस्थामा आइपुगेको आरोप लगाए।
उनले गलत आर्थिक तथा औद्योगिक नीतिका कारण करिब १३५ वटा उद्योग–कलकारखाना बन्द भएको, सरकारी विद्यालयहरूको अवस्था दयनीय बनेको र कृषि क्षेत्र पूर्ण रूपमा तहसनहस भएको बताए। साथै, मुलुक ३३ अर्ब रुपैयाँभन्दा बढी ऋणको भारी बोझमा फसेको उल्लेख गर्दै यसले आगामी पुस्ताको भविष्यसमेत संकटमा पारेको यादवको भनाइ थियो।
अध्यक्ष यादवले वर्तमान सरकारले समेत युवापुस्ता (जेन–जी) लाई भ्रममा पारेर झुक्याउने प्रयास गरिरहेको आरोप लगाउँदै देशलाई सही दिशामा लैजान संरचनात्मक सुधार र इमानदार राजनीतिक इच्छाशक्ति अपरिहार्य रहेको बताए। उनले जनताको जीवनस्तर सुधार्ने स्पष्ट नीति र जवाफदेही शासन व्यवस्था बिना देशको संकट समाधान हुन नसक्ने धारणा व्यक्त गरे।