रौतहट–१ बाट माधवकुमार नेपालको एकल नाम सिफारिस, भ्रष्टाचार मुद्दाका कारण उम्मेदवारीमा कानुनी जटिलता

tejnewskhabar.com

रौतहट, पुस ११ गते —

नेपाली कम्युनिष्ट पार्टीको क्षेत्रीय भेलाले रौतहट क्षेत्र नं. १ बाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम प्रतिनिधिसभा निर्वाचनका लागि एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।

क्षेत्रीय भेलाले नेपाललाई अनुभवी, राष्ट्रिय राजनीतिमा प्रभावशाली तथा संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको नेताका रूपमा मूल्यांकन गर्दै सर्वसम्मत रूपमा सिफारिस गरेको जनाएको छ। उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रमा पठाइने बताइएको छ।

तर, पूर्व प्रधानमन्त्री नेपालमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर रहेकाले उहाँको उम्मेदवारी कानुन बमोजिम दर्ता हुने सम्भावना कमजोर रहेको कानुनविद्हरूले बताएका छन्। प्रचलित कानुनी व्यवस्था अनुसार भ्रष्टाचारको अभियोग लागी अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका व्यक्तिको उम्मेदवारीमा बाधा पुग्न सक्ने व्यवस्था रहेको उनीहरूको भनाइ छ।

यसअघि पनि भ्रष्टाचारको अभियोग लागेका नवीनराज जोशीको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेको नजिर रहेको उल्लेख गर्दै विज्ञहरूले नेपालको हकमा पनि उस्तै कानुनी जोखिम कायम रहेको बताएका छन्।

यद्यपि, पार्टीका स्थानीय नेताहरूले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै अन्तिम निर्णय कानुनी प्रक्रियाबाटै स्पष्ट हुने बताएका छन्। अब केन्द्रिय नेतृत्वको निर्णय र अदालतको आगामी फैसलाले नेपालको उम्मेदवारीको भविष्य निर्धारण गर्नेछ।

प्रतिक्रिया