“देशको शान्तिका लागि अचानो बन्न तयार छौँ, सबै दल चुनावमा आइदिनुहोस् : प्रधानमन्त्री कार्की”

tejnewskhabar.com

काठमाडौँ, ०७ गते — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि सबै राजनीतिक दलसँग संवाद र सहकार्य गर्न सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट गर्नुभएको छ। आज काठमाडौँमा आयोजित निर्वाचनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशको शान्ति र स्थायित्वका लागि आफूहरू अचानो बन्न पनि तयार रहेको उल्लेख गर्दै सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो।

प्रधानमन्त्री कार्कीले राजनीतिक दल, नागरिक समाज, जेनजी (Gen-Z) तथा सरोकारवालाहरूलाई आमन्त्रण गरी निर्वाचनसम्बन्धी उठेका प्रश्नहरूमा खुला संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि ८ जना नागरिक समाजका अगुवा, १४ जना विभिन्न राजनीतिक दलका नेता तथा २ जना जेनजी प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले निर्वाचन अनिवार्य रूपमा हुनुपर्छ भन्ने साझा धारणा राखेका छन्। केही दलबाट अदालतमा मुद्दा विचाराधीन रहेको विषय उठे पनि निर्वाचन नै नहोस् भन्ने कुनै पनि मत नआएको प्रधानमन्त्री कार्कीले बताउनुभयो।

उहाँले पछिल्लो समय सिर्जना भएको राजनीतिक परिस्थिति कसैले चाहेर नल्याएको उल्लेख गर्दै भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाले समाज र राष्ट्रलाई गहिरो असर पारेको बताउनुभयो। ती घटनापछि मुलुकले परिवर्तनको आवश्यकता महसुस गरेको र नयाँ युवा शक्तिहरू अग्रपंक्तिमा आएको उहाँको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले जेनजीले उठाएका माग र प्रश्नहरू समाधान गर्नुपर्नेमा सबै पक्ष सहमत रहेको उल्लेख गर्दै संविधानको व्यवस्थाअनुसार छ महिनाभित्र निर्वाचन गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो। “निर्वाचन संकट होइन, खुसीको घडी हो, परिवर्तनको शान्तिपूर्ण मार्ग हो,” उहाँले भन्नुभयो।

क्रान्ति वा विद्रोहले परिवर्तन ल्याउन सक्ने भए पनि त्यसमा हिंसा र मानवीय क्षति हुने उल्लेख गर्दै उहाँले निर्वाचनले भने शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्दै प्रणाली सुधार गर्ने बताउनुभयो।

राजनीतिक दलभित्रका असहमति र मनमुटावको नकारात्मक असर जनतामाथि पर्न नहुनेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले देशको सर्वेसर्वा जनता नै भएको स्पष्ट गर्नुभयो। “जनताको भावना र चाहनाअनुसार दलहरू सच्चिनुपर्छ,” उहाँले भन्नुभयो।

भदौ २३–२४ का घटनाबाट समाजमा परेको घाउ अझै ताजा रहेको उल्लेख गर्दै उहाँले जेनजी र युवापुस्ताले खोजेको परिवर्तन के हो भन्ने विषयमा गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताउनुभयो।

“हामी आलोचनाको पात्र पनि बनेका छौँ, अचानो पनि भएका छौँ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तर यो सबै मुलुकका लागि हो भने हामी सहन तयार छौँ।”

प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दल एकताबद्ध भएर शान्तिको पक्षमा उभिए कुनै पनि किसिमको आतंक, हिंसा वा अराजकता फैलिन नसक्ने स्पष्ट पार्नुभयो। ११४ वटा राजनीतिक दलमध्ये कुनैले पनि खराब तत्वलाई प्रश्रय नदिए देशमा अशान्ति फैलिन नसक्ने उहाँको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा प्रधानमन्त्री कार्कीले राजनीतिक दल, नागरिक समाज, पत्रकार, कर्मचारीलगायत सबै पक्षलाई मुलुकको उन्नति र विकासका लागि सहकार्य गर्न आह्वान गर्नुभयो। “देशको विकास राजनीतिक नाराले होइन, कामले देखिनुपर्छ,” उहाँले जोड दिनुभयो।

प्रतिक्रिया