रौतहट ०७ गते पुस— बंगलादेशमा हालै हिन्दू समुदायमाथि बढ्दो हिंसात्मक घटनाहरूको श्रृङ्खलाकै क्रममा हिन्दू नागरिक दीपू दासको योजनाबद्ध रूपमा गरिएको निर्मम हत्याको विरोधमा नेपाल–रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा विरोध कार्यक्रम सम्पन्न भएको छ।
उक्त विरोध कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाभित्रका हिन्दू धर्मावलम्बीहरू, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मीहरू तथा आदर्श झा र विकास महतोको नेतृत्वमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिका क्षेत्रभित्र शान्तिपूर्ण रूपमा परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा “हिन्दू हत्या बन्द गर”, “धार्मिक अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर”, “मानवअधिकारको सम्मान गर” लगायतका नारा लगाउँदै बंगलादेशमा भइरहेका घटनाप्रति आक्रोश व्यक्त गरिएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले बंगलादेशमा पछिल्लो समय मन्दिर तोडफोड, हिन्दू घर–व्यवसायमाथि आक्रमण, धम्की तथा हत्या जस्ता घटनाहरू निरन्तर बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले यस्ता अमानवीय घटनाले सम्पूर्ण मानव सभ्यतालाई नै चुनौती दिएको बताए।
प्रदर्शनमा सहभागीहरूले बंगलादेश सरकार तथा अन्तर्राष्ट्रिय समुदायसँग अल्पसंख्यक हिन्दू समुदायको जीउधनको सुरक्षा सुनिश्चित गर्न, दोषीहरूमाथि कडा कारबाही गर्न र यस्ता घटनाहरू तत्काल रोक्न माग गरेका थिए।
उक्त विरोध कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरूको उपस्थिति समेत रहेको थियो। सुरक्षाकर्मीहरूको निगरानीमा कुनै अप्रिय घटना नभई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले जानकारी दिएका छन्।