नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित, विशेष महाधिवेशनको विकल्प खुला

tejnewskhabar.com

काठमाडौँ १७ गते । नेपाली कांग्रेसले निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै नियमित महाधिवेशन स्थगन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी विज्ञप्तिमा संगठनात्मक, कार्यतालिका तथा क्रियाशील सदस्यता सम्बन्धी प्रक्रिया पूरा हुन नसकेका कारण महाधिवेशन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ।

विज्ञप्ति अनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको भए पनि समय अभावका कारण सबै प्रक्रिया समयमै सम्पन्न हुन सकेन। देशभरबाट प्राप्त विवरण अनुसार लाखौँ क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता थपिएको जनाइएको छ।

यस्तै, पार्टी विधानअनुसार ७५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सहित माग आएमा विशेष महाधिवेशन आयोजना गर्न सकिने व्यवस्था रहेको भन्दै, नियमित महाधिवेशन तोकिएको समयमा हुन नसके विशेष महाधिवेशन विकल्पको रूपमा अघि बढ्न सक्ने स्पष्ट पारिएको छ।

नेपाली कांग्रेसले पार्टी विधानको दफा ७५ (३) बमोजिम विशेष महाधिवेशन आह्वान गर्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिको रहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ। उक्त प्रक्रिया अघि बढाउन आवश्यक छलफल र निर्णय केन्द्रीय समितिबाट हुने जनाइएको छ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मागगनकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउँदै विधि र प्रक्रियाअनुसार आगामी कदम चालिने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया