जनकपुरधाम, २० गते । TikTok लगायत सामाजिक सञ्जाल प्रयोग गरी धार्मिक अफवाह फैलाउने तथा मस्जिदमा तोडफोड गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई धनुषा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार TikTokमा विभिन्न किसिमका आपत्तिजनक शब्द प्रयोग गरी समुदाय लक्षित गालीगलौज गरिएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो। उक्त कार्यमा संलग्न कमला नगरपालिका–६ का १९ र २२ वर्षका दुई जनालाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्मसम्बन्धी कसुरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यसैगरी, मिति २०८२/०९/१९ गते राति करिब ९ः३० बजे कमला नगरपालिका–६ स्थित सर्वदा टोलमा रहेको मस्जिदमा तोडफोड गरी कागजात निकाल्ने तथा धार्मिक ग्रन्थसमेत जलाएको घटनामा संलग्न कमला नगरपालिका–६ का २५ वर्षीय कपिल भन्ने रामप्रताप साहलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत भइरहेको छ।
प्रहरीले TikTok, Facebook, WhatsApp लगायत सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामाथि प्रहार हुने खालका स्टाटस, अडियो वा भिडियो पोष्ट, लाइक, सेयर तथा कमेन्ट गर्ने कार्य कानुनविपरीत रहेको भन्दै संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
साथै धनुषा जिल्लामा सामाजिक सद्भाव र शान्ति कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, धार्मिक अगुवा, अधिकारकर्मी, नागरिक समाज तथा सर्वसाधारण सबैमा संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले आग्रह गरेको छ।