नेपाली कांग्रेसद्वारा विशेष केन्द्रीय महाधिवेशन आह्वान, पुस २७–२८ मा काठमाडौंमा हुने

tejnewskhabar.com

काठमाडौँ, पुस २३ —नेपाली कांग्रेसले पार्टी विधानको पालना गर्दै विशेष केन्द्रीय महाधिवेशन आह्वान गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरबाट जारी विज्ञप्तिअनुसार पुस २७ र २८ गते काठमाडौंमा विशेष केन्द्रीय महाधिवेशन आयोजना हुने भएको हो।

पार्टी विधान, २०७६ (संशोधनसहित) अनुसार महाधिवेशन पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय भएकाले वर्तमान राजनीतिक अवस्था, संगठनात्मक पुनर्संरचना र पार्टी जीवनलाई थप सुदृढ बनाउने उद्देश्यले विशेष महाधिवेशन आवश्यक भएको कांग्रेसले जनाएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार महाधिवेशन प्रतिनिधिहरूबाट प्राप्त माग, हस्ताक्षर र विधानले तोकेको प्रक्रिया अनुसार विशेष महाधिवेशन कानुनी, राजनीतिक तथा वैधानिक रूपमा अपरिहार्य बनेको हो। पार्टी नेतृत्वले विधान र कानुनको पूर्ण पालना गर्दै जिम्मेवारीपूर्वक महाधिवेशन सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ।

केन्द्रीय कार्यसमितिले महाधिवेशनलाई व्यवस्थित, मर्यादित र लोकतान्त्रिक ढंगले सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। कांग्रेसले विशेष महाधिवेशनलाई बदलिँदो समय र परिस्थितिअनुसार पार्टीलाई पुनः ऊर्जाशील बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

विज्ञप्तिमा कठिन परिस्थितिमा पनि पार्टीलाई एकताबद्ध राख्ने संकल्प दोहोर्याउँदै ‘जय नेपाल’ को नारासहित महाधिवेशन सफल बनाउने दृढ प्रतिबद्धता व्यक्त गरिएको छ।



प्रतिक्रिया