मकवानपुर २९ गते । चितवनको भरतपुरमा सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै **निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा.**ले आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन अधिकारीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो।
आयुक्त ज.ब.रा.ले निर्वाचन प्रक्रियामा संलग्न सबै अधिकारीहरूले संविधान, प्रचलित कानुन, निर्वाचन आचारसंहिता तथा आयोगले तोकेका निर्देशिकाको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले व्यवस्थापन, समन्वय र निष्पक्ष निर्णय क्षमताले नै निर्वाचनप्रतिको जनविश्वास मजबुत हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत तथा जिल्ला र प्रदेशस्तरीय निर्वाचन अधिकारीहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणमा मतदान व्यवस्थापन, मतगणना प्रक्रिया, सुरक्षा समन्वय, उजुरी व्यवस्थापन तथा प्रविधिको प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
निर्वाचन आयोगले यस्ता अभिमुखीकरण कार्यक्रममार्फत देशभर निर्वाचन तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।