काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता र सहकार्यलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनीहरूले पार्टीले आधिकारिकता पाए पनि सबै पक्षलाई मिलाएर अगाडि बढ्नुपर्ने स्पष्ट पारेका छन्।
वर्तमान राजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सभापति थापा र उपसभापति शर्माले अर्को पक्षका नेताहरूलाई लक्षित गरी सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट अपहेलना, आरोप–प्रत्यारोप र कटाक्ष नगर्न आग्रह गरेका छन्। यस्तो गतिविधिले पार्टीभित्रको एकतालाई कमजोर बनाउने भन्दै संयमित अभिव्यक्तिमा जोड दिइएको छ।
नेताद्वयले पार्टीभित्र देखिएका मतभेदलाई संवाद, समझदारी र समन्वयका माध्यमबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। कार्यकर्ता र नेताहरूलाई अनुशासित र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्दै कांग्रेसलाई अझ सशक्त र एकताबद्ध बनाउने दिशामा केन्द्रित हुन निर्देशन दिएका छन्।
उनीहरूको सन्देशलाई पार्टी एकता सुदृढ बनाउने सकारात्मक पहलका रूपमा हेरिएको छ।