जनकपुर, ११ गते पुस: मधेस प्रदेश सरकारको लगानीमा सञ्चालन भइरहेको “एक निर्वाचन क्षेत्र, एक सडक” योजनाअन्तर्गत सकरी बोर्डरदेखि हलखोरी–एकडारा–साँढा हुँदै जाउख चोकसम्म निर्माण हुने सडक योजनाको मिति २०८२/०९/१० गते शिलान्यास गरिएको छ।
उक्त शिलान्यास कार्यक्रममा मधेस प्रदेशकी शिक्षा मन्त्री रानी शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भई योजनाको औपचारिक रूपमा शिलान्यास गर्नुभएको हो। कार्यक्रममा मन्त्री शर्माले सडक निर्माण सम्पन्न भएपछि स्थानीय आवागमन सहज हुने, व्यापार–व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने तथा समग्र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले प्रदेश सरकारले यातायात पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै दिगो र समावेशी विकासका योजनाहरू अघि बढाइरहेको पनि उल्लेख गर्नुभयो।
सडक योजना सम्पन्न भएपछि ग्रामीण भेगका नागरिकहरूले सहज, सुरक्षित तथा दिगो यातायात सेवा पाउने अपेक्षा गरिएको छ। यो योजना क्षेत्रीय समृद्धि र यातायात पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।