रौतहट ०९ गते — जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा बढ्दो शीतलहरका कारण जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। चिसो हावा र कुहिरोको प्रभाव बढ्दै जाँदा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी, बिरामी तथा विपन्न वर्ग बढी प्रभावित हुन सक्ने प्रशासनको भनाइ छ।
प्रशासनले जारी गरेको सूचनामा चिसोबाट बच्न न्यानो कपडाको प्रयोग गर्न, घर बाहिर तथा खुला स्थानमा लामो समय नबस्न र सुरक्षित रूपमा आगो ताप्ने वा विद्युतीय उपकरण प्रयोग गरी शरीर न्यानो राख्न अनुरोध गरिएको छ। सुत्दा न्यानो सिरक–कम्बल प्रयोग गर्न, छाती र टाउको ढाक्न तथा तातो पानी र पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न पनि आग्रह गरिएको छ।
ज्वरो, झाडापखाला, दम, खोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ। साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा बिरामीहरूको हेरचाहमा विशेष ध्यान दिनु आवश्यक रहेको सूचनामा उल्लेख छ।
शीतलहरको असर पशुपन्छीमा पनि पर्न सक्ने भन्दै गोठ तथा खोर सफा र न्यानो राख्न, पशुपन्छी बिरामी भएमा नजिकको पशु चिकित्सालय वा पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।
कुहिरो तथा हुस्सु लागेको समयमा सवारी साधन चलाउँदा गति सीमित गर्न, फग लाइट तथा हेडलाइट प्रयोग गर्न र हेल्मेट अनिवार्य लगाउन प्रशासनले सवारी चालकहरूलाई सचेत गराएको छ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, विद्यालय, क्लब तथा सामाजिक संघसंस्थालाई चिसोसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी नागरिकको जीवनयापन सहज बनाउन सक्रिय भूमिका खेल्न समेत अनुरोध गरेको छ।
सूचनामा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवको हस्ताक्षर रहेको छ।