लहान । लहान नगरपालिका–१० का नेता कृष्णहरी गैरेल पुनः नेपाली कांग्रेसमा फर्किएका छन्। २०७४ सालमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका गैरेल एमाले विभाजनपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिँदै २६१ मत प्राप्त गरेका थिए।
मंगलबार लहानमा आयोजित कार्यक्रममा गैरेलसहित नेकपाको पुरै वडा कमिटी नेपाली कांग्रेसमा प्रवेश गरेको हो। नवप्रवेशीहरुलाई सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार रामसुन्दर चौधरीलगायत कांग्रेस नेताहरुले टीका र खादा ओढाएर स्वागत गरेका थिए।
कांग्रेस बुथ सभापति अम्बराज मिश्रको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय सभापति महेश चौधरी, नगर सभापति संजय यादव, महाधिवेशन प्रतिनिधि अरुण केसी, क्षेत्रीय सचिव शरणदेव यादव, सह–सचिव महेश मण्डल, वडा अध्यक्ष मनोज कोईराला लगायतका नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरुले कांग्रेसको नीति, विचार र संगठन बलियो बन्दै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन एकजुट भएर लाग्न आग्रह गरेका थिए।