काठमाडौँ, पौष १८ — नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ। बैठकले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी कार्यतालिका संशोधन गर्दै आगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।
बैठकले मिति २०८२ मंसिर १५ गते नै १५औँ महाधिवेशनको नियमित कार्यतालिका स्वीकृत भइसकेको र त्यसअनुसार प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको माग स्वतः समाप्त भएको स्पष्ट पारेको छ। पार्टी विधानअनुसार महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण अनिवार्य पहिलो प्रक्रिया भएको उल्लेख गर्दै वडा अधिवेशनबाट नै महाधिवेशनको प्रक्रिया सुरु हुने जनाएको छ।
बैठकले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै पार्टीका सबै तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति, सदस्य, समर्थक र शुभेच्छुकहरूलाई निर्वाचन केन्द्रीत भई नेपाली कांग्रेसको पक्षमा बहुमत दिलाउन सक्रिय हुन अपील गरेको छ।
संशोधित कार्यतालिकाअनुसार नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण, उजुरी छानविन, अन्तिम नामावली स्वीकृति तथा विभिन्न तहका अधिवेशनको मिति तोकिएको छ। वडा अधिवेशन २०८२ चैत २१ गते, पालिका अधिवेशन २०८२ चैत २५ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८२ चैत २८ गते, प्रतिनिधि सभा क्षेत्रीय तथा जिल्ला अधिवेशन २०८३ वैशाख २ र ५ गते, प्रदेश अधिवेशन २०८३ वैशाख १०–१२ गते र केन्द्रीय महाधिवेशन २०८३ वैशाख २८–३१ गते हुने निर्णय गरिएको छ।
बैठकले विशेष परिस्थितिका कारण नेपाली कांग्रेस विधान, २०१७ (संशोधन सहित) को धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ जेठ मसान्तसम्म थप गर्ने निर्णय पनि गरेको छ।
बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू तथा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए।
प्रेस विज्ञप्तिमा मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको छ।