रौतहटमा कांग्रेसको क्रियाशील सदस्यता वितरणप्रति असन्तुष्टि, युवा नेता श्यामहरि चौलागाईंले उठाए विधान उल्लंघनको प्रश्न

tejnewskhabar.com

रौतहट १४ गते पुस :  नेपाली कांग्रेसका युवा नेता तथा रौतहट जिल्ला कार्यसमिति सदस्य श्यामहरि चौलागाईंले जिल्लामा हाल सञ्चालन भइरहेको क्रियाशील सदस्यता वितरण प्रक्रिया प्रति गम्भीर असन्तुष्टि जनाउनुभएको छ। पार्टी विधानले तोकेको विधि, प्रक्रिया र मापदण्डको पूर्ण पालना नगरी सदस्यता वितरण गरिएको भन्दै उहाँले यसलाई पार्टीको मूल्य–मान्यता र दीर्घकालीन हितविपरीत कदमको रूपमा टिप्पणी गर्नुभएको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चौलागाईंले नेपाली कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यता वितरण स्पष्ट, पारदर्शी र संस्थागत कार्यविधिमा आधारित हुनुपर्ने उल्लेख गर्नुभएको छ। तर व्यवहारमा भने वडा, नगर तथा क्षेत्रीय तहका केही पदाधिकारीहरूले विधानलाई बेवास्ता गर्दै व्यक्तिगत रुचि, पहुँच र सिफारिसका आधारमा सदस्यता वितरण गरिरहेको उहाँको आरोप छ।

उहाँका अनुसार पार्टी विधानले वडा कार्यसमितिबाट सिफारिस भई नगर/गाउँपालिका कार्यसमिति हुँदै क्षेत्रीय कार्यसमितिमा पठाएर मात्र क्रियाशील सदस्यता प्रदान गर्ने स्पष्ट व्यवस्था गरेको छ। तर रौतहट जिल्लामा यो प्रक्रिया विधिसम्मत र पारदर्शी रूपमा लागू हुन नसकेको उहाँको भनाइ छ। “क्षेत्रीय कार्यसमितिको बैठकमा विधानको रटन गर्ने तर व्यवहारमा त्यसको पालना नगर्नु पार्टीको दीर्घकालीन हितविरुद्ध हो,” चौलागाईंले उल्लेख गर्नुभएको छ।

चौलागाईंले विधान मिचेर गरिएको सदस्यता वितरणले संगठनभित्र असन्तुष्टि बढ्ने, इमानदार तथा सक्रिय कार्यकर्ताको मनोबल कमजोर हुने र पार्टीभित्र गुटबन्दी झनै सशक्त हुने खतरा रहेको चेतावनी दिनुभएको छ। उहाँले यस विषयमा तत्काल निष्पक्ष समीक्षा गरी विधानअनुसार क्रियाशील सदस्यता वितरण सुनिश्चित गर्न पार्टी नेतृत्वसँग आग्रह गर्नुभएको छ।

“क्रियाशील सदस्यता पार्टीको मेरुदण्ड हो। यसमै अनियमितता भयो भने महाधिवेशनदेखि लिएर नेतृत्व चयनसम्म गम्भीर प्रश्न उठ्छ,” उहाँको भनाइ छ। पार्टीलाई बलियो, समावेशी र लोकतान्त्रिक बनाउन विधि, विधान र प्रक्रियाको सम्मान अनिवार्य रहेको उहाँले जोड दिनुभएको छ।

उहाँले जिल्ला, प्रदेश तथा केन्द्रीय तहका नेतृत्वलाई रौतहट जिल्लामा भइरहेको क्रियाशील सदस्यता वितरण प्रक्रियाको छानबिन गर्न, देखिएका गल्ती कमजोरी सच्याउन र सबै कार्यकर्तालाई समान अवसर सुनिश्चित गर्न विशेष पहल गर्न आग्रह गर्नुभएको छ।

नेपाली कांग्रेस रौतहटमा क्रियाशील सदस्यता वितरणलाई लिएर पछिल्लो समय विभिन्न तहबाट असन्तुष्टि व्यक्त हुँदै आएको छ। युवा नेता चौलागाईंको सार्वजनिक अभिव्यक्तिसँगै यो विषय पार्टीभित्र थप बहस, समीक्षा र निर्णयको माग गर्ने मुद्दाका रूपमा अघि आएको देखिन्छ।

प्रतिक्रिया