शीतलहरका कारण माधव नारायण नगरपालिकाका सामुदायिक विद्यालयमा ३ दिन बिदा

tejnewskhabar.com

रौतहट ११ गते पुष — अत्यधिक शीतलहर र चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै माधव नारायण नगरपालिकाले सामुदायिक विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार नगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयहरूमा मिति २०८२/०९/१३ गतेदेखि २०८२/०९/१५ गतेसम्म (शनिबार बाहेक) बिदा दिइनेछ। उक्त बिदा विद्यालयको वार्षिक ‘जाडो बिदा’ बाट कट्टा गरी मिलान गरिने नगरपालिकाले जनाएको छ।

सूचनामा हाल केही दिनयता मौसम अत्यधिक चिसो भई शीतलहरको अवस्था सिर्जना भएको र त्यसले साना बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले बिदा दिने निर्णय गरिएको उल्लेख छ।

नगरपालिकाका अनुसार विद्यालयहरू मिति २०८२/०९/२० गते आइतबारदेखि पुनः नियमित रूपमा सञ्चालन हुनेछन्। बिदाको अवधिमा विद्यालयका शैक्षिक क्रियाकलाप बन्द रहने र विद्यार्थीहरूलाई घरमै सुरक्षित राख्न तथा सोसम्बन्धी जानकारी अभिभावकहरूलाई समेत दिन विद्यालयहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया