काठमाडौं२०८२ पुस १३, गते — नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब आह्वान गर्न माग गरेको छ। मिति २०८२ पुस १० गते बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले गरेको निर्णय आज (आइतबार) राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाललाई औपचारिक रूपमा जानकारी गराइएको हो।
सिंहदरबारस्थित अध्यक्षज्यूको कार्यकक्षमा नेपाली कांग्रेस संसदीय दलका तर्फबाट राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सम्बन्धित निकायसँग पहल गर्न अध्यक्षज्यूलाई लिखित अनुरोध पत्र बुझाउनुभएको छ।
कांग्रेस संसदीय दलको पुस १० गतेको बैठकले देशमा विकसित भएको राजनीतिक बिषम परिस्थितिका कारण प्रतिनिधि सभा विघटन भएको अवस्थामा सार्वभौम संघीय संसदअन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको उल्लेख गरेको छ। यस्तो अवस्थामा जनताका आवाज उठाउने र संवैधानिक भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गर्न राष्ट्रिय सभाको बैठक बस्नु अत्यावश्यक रहेको निष्कर्ष निकाल्दै अधिवेशन तत्काल आह्वान गर्न अध्यक्षज्यूमार्फत सम्बन्धित निकायसँग माग गर्न निर्णय गरिएको थियो।
नेपाली कांग्रेसले वर्तमान परिस्थितिमा राष्ट्रिय सभाको सक्रियता लोकतान्त्रिक अभ्यास, संवैधानिक दायित्व र जनप्रतिनिधित्वका दृष्टिले अनिवार्य रहेको स्पष्ट पारेको छ।