चन्द्रपुर–१० बालचनपुरमा मोटरसाइकल दुर्घटनापछि प्रदर्शन, मृतक प्रमोद साह कानुको पहिचान खुल्यो

tejnewskhabar.com

रौतहट ०६ गते । हिजो चन्द्रपुर नगरपालिका–१० बालचनपुरमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको न्यायको माग गर्दै आज बालचनपुर चोकमा स्थानीयवासीहरूले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेका हुन्।

हिजो साँझ बालचनपुर क्षेत्रमा भएको दुर्घटनामा मोटरसाइकल चालक रौतहट जिल्ला गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी बिसुनदयाल साहका छोरा अन्दाजी ५० वर्षीय प्रमोद साह कानुको मृत्यु भएको हो।

दुर्घटनामा सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ६५ वर्षीय जोगेन्द्र हजारा पासवानको टाउकोमा गम्भीर चोट लागेको छ। उनको हाल वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख डीएसपी रुपालाबुङका अनुसार घटनामा संलग्न दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ भने घटनाको थप अनुसन्धान कार्य भइरहेको छ।

स्थानीयवासीहरूले सडक सुरक्षामा गम्भीर लापरबाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया